आजभोलि उसलाई लाग्छ अब केही गर्नुपर्नेछ। आफन्त र आफ्ना लागि भनेर ऊ निरन्तर काममा खटिएको छ। उसमा हिक्मत पलाउन आँटेको छ। ऊ विस्तारै आफूलाई सम्हालेर अघि बढ्ने साहस बटुल्दैछ।
ऊ सधैं गाउँमा सम्मानित थियो। आफ्नै मेहनतले बनाएको घर, परिवार, र साथीभाइसँगको सम्बन्ध राम्रो थियोे। उसले सधैं सबैलाई माया गर्थ्यो। बाल्यकालदेखि संघर्षले भरिएको उसको जीवनमा केही शान्ति आएको थियो। एक छाेरा, आमा र आफ्नो मेहनतबाट कमाएको सम्पत्ति, यी सबै उसलाई गर्वका विषय थिए।
तर एकाएक उसको जिन्दगीमा ठूलो परिवर्तनको आँधी सुरु भयो। जब श्रीमती र आफन्तहरूबीच तिक्तता बढ्न थाल्यो। शुरुवातमा त स-साना झगडाहरू सामान्य लाग्थे। श्रीमतीले सधैं घरका आफन्तहरू र उसँग केही न केही असन्तोष व्यक्त गर्थिन्।
‘तिम्रा आफन्तहरूले हामीलाई कहिल्यै बुझ्दैनन्,’ उनी भन्थिन्। उ सुरुमा यी कुरा सामान्य ठान्थो। तर समय बित्दै जाँदा तिनले गम्भीर रूप लिन थाले। श्रीमतीले उसलाई थुप्रै पटक भनिन्, ‘तिमी सधैं आफ्नो आमा र आफन्तलाई नै बढि महत्व दिन्छौ। हामीलाई कहिल्यै मूल्य दिँदैनौ।’
ऊ दुई तिरबाट तानिएजस्तो अनुभव गर्न थाल्यो। एकातिर, आफ्नो सन्तानको माया थियो। अर्कोतिर, आफन्तहरूको आदर र जिम्मेवारी। घरमा सधैं झगडा हुँदै गयो। एकातिर श्रीमतीको असन्तोष र आरोप, अर्कोतिर आफन्तहरूले पनि उसलाई गलत बुझ्न थाले। उनीहरूलाई लाग्थ्यो कि अब आफ्नो परिवारको कुरा नसुनी श्रीमतीको पक्ष लिँदै अस्पतालकाे चक्करले उसको जीवन बिग्रदै गयाे। कहिलेकाहीँ त श्रीमतीलाई दिनकाे तीन चाेटि पनि लिनु अस्पताल पर्थ्याे।
दिनदिनैको तनावले उसलाई मानसिक रूपमा थकित बनायो। पछि उसले हरेक सम्भव प्रयास गर्यो, घरलाई शान्त बनाउन, आफू, आफन्त र श्रीमतीको बीचमा सन्तुलन राख्न। तर, सम्बन्धहरू यति बिग्रिए कि केही सुधार्न नसकिने जस्तो देखिन थाल्यो।
एकदिन उसका लागि अत्यन्तै गम्भीर घडी आयो। आफन्तहरूसँगको झगडा चर्कियो र श्रीमतीले अन्तिम शब्दमा भनिन्, ‘अब यो घरमा बस्न गाह्रो भयो। तिमी आफैं निर्णय गर, म वा तिम्रा आफन्तहरू।’ यसले उसको मनमा ठूलो आघात पुग्यो। आफूलाई कसरी तनाव कम गराउने भनेर साेच्दा साेच्दा उसको मानसिक समस्या झन् बड्दै गयाे। त्यसरी उसको आफ्नै परिवारको एकतामा ठूलो दरार आएको थियो।
आफन्तहरूले पनि उसलाई नराम्रो शब्दहरूले आक्रमण गर्न थाले। ‘तिमी त अब हामीलाई छोडेर टाढा भागिसक्यौ,’ उनीहरूले भने, ‘तिमीले आफ्ना आफन्तलाई धोका दियौ।’ यी शब्दहरूले उसलाई गहिरो घाउ दिए। एकातिर श्रीमतीको नकारात्मकताले उसलाई थकित बनाएको थियो। अर्कोतिर आफन्तहरूको आक्षेपाले उसलाई झन् एक्लो बनायो।
पछि श्रीमतीका आफन्त आएर घरबाट सिन्दुर पुछेर, चुरा फुटायर उसलाई मरिसकेको भनेर जबर्जस्ती लगे। छाेरा आमा छाढेर नजानु भनेर खुट्टा समातेर राेइरहेका थियो। उसलाई एक्लो महशुस हुन थाल्यो।
अन्ततः उसले सबै कुरा छोडेर जाने निर्णय गर्यो। उसको मनभरि पीडा थियो। अब त्यो तनावपूर्ण वातावरणमा उसले बाँच्न गाह्रो भयो। त्यस साँझ, उसले झोलामा केही कपडा र बच्चाका केही तस्बिरहरू राख्यो। गाउँको त्यो शान्त वातावरण, आफन्तहरूको स्मृति, अनि आफ्नो बाल्यकालका सबै सम्झनाहरू छोडेर, उसले घर छोड्ने निर्णय गर्यो।
एकातिर आमा र छाेरा अनि आफन्तलाई छाेड्नुकाे पीडा अर्कोतिर कता जाने जाने ठाउँ थिएन। कहाँ बस्ने ठेगान थिएन। खाने खाना थिएन। उसले खलंगा बजार घरमा एउटा काेठा भाडामा बस्ने गर्यो। तर कोठामा न खाने खाना थियाे नत पैसा नै। भाेलिपल्ट जसाेतसाे ओड्ने ओछ्याउने कपडा किन्यो। खाने खाना किन्ने पैसा थिएन। कति रात चाउचाउसँग छाक टार्यो।
उसले निकै कहाली लाग्गो समय विताइरहेको छ। हरेक दिनको चिन्ता र एक्लोपनले उसलाई झन् निराश बनाइदिएका थिए। तर पनि ऊ हिक्मत नहारेर आफ्नो जीवन व्यवस्थित गर्नतिर लागिपरेको छ। आजभोलि उसलाई लाग्छ अब केही गर्नुपर्नेछ। आफन्त र आफ्ना लागि भनेर ऊ निरन्तर काममा खटिएको छ। उसमा हिक्मत पलाउन आँटेको छ। ऊ विस्तारै आफूलाई सम्हालेर अघि बढ्ने साहस बटुल्दैछ।
#कुटिराे डटकम
काली बहादुर परियार । २०८१ असोज १९ गते शनिवार