जुम्लामा सुनका गहना चोर्ने एक जना युवा पक्राउ

काली बहादुर परियार

साउन २६

जुम्ला — जुम्लामा सुनका गरगहना चोर्ने चन्दननाथ-१ का २६ वर्षीय शालिकराम महतलाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते चन्दननाथ नगरपालिका-१ कालेखोलीकी शान्ति देवकोटाको घरमा राखिएको गहना चोरेको आरोपमा महतलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

उनका अनुसार शान्ति देवकोटा माइती गएको बेला दराज फुटाइ सुनका गरगहना चोरी भएको थियो । शंकास्पद व्यक्ति माथि उच्च निगरानी बढाइरहेको प्रहरीले जुम्लादेखि नेपालगञ्ज जाँदै गर्दा कालकोटको मान्मबाट महतलाई पक्रेको थियो ।

प्रहरीले सुन चोर्ने शालिकरामलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै चोरी गरेका सामानहरु समेत सार्वजनिक गरेको छ । मयुरको चित्र भएको सुनको चन्द्रमा १ थान, कानमा लगाउने रिङ २ थान, माडुली २ थान, चन्द्रमाको भाँचिएको टुक्रा ३ थान र तीन हजार तीन सय रुपैयाँ बरामद गरेको थियो ।

पक्राउ परेका शालिकरामको बयानमा आधारमा साउन २४ गते थप भाउडाँडाको ओढारमा लुकाइ राखेका गरगहनाहरु समेत प्रहरी नियन्त्रणमा लिएको छ । जसमा सुन सहितको पोते, तिलहरी ३ थान, मुगा १ थान, नौगेडी १ थान,पोते सहितको नौगेडी १ थान, मंगलसुत्र १ थान र बिज १ थान बरामद गरेको छ ।

 



तपाईको प्रतिक्रिया