तिलामा याेजना कार्यान्वयन गर्नका लागि क्यालेन्डर लागु हुने

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिका भित्र संचालन हुने विकासे योजनालाई कार्यान्वयन गर्नेका लागि क्यालेन्डर लागु गर्न भएको छ । योजना र बजेट खर्चलाई जनमुखी र पारदर्शी बनाउनका लागि यो आर्थिक वर्षबाट क्यालेन्डर लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले जानकारी दिनुभयो । विकास निर्माणका कामलाई चुस्त राख्नका लागि प्रत्येक योजनामा एउटा साईट प्रविधिक ताेकिएको छ । अनुगमन कार्यविधि समेत लागु गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भन्नुभयो,“पालिकामा एकीकृत सेवाकेन्द्र संचालनमा ल्याउदै छौ । बजेट कार्यान्वयनमा सुधार आएको छ । गत आव २०८०।०८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न भई संचालनमा आएको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो । ” ठेक्काबाट संचालित भएका १४ वटा योजनामध्ये तिला– १ रारा खानेपानी र कुडारीको दश शैया अस्पतालको बजेट क्रमागत रहेको छ । गत वर्ष खानेपानी योजनाको असारमा मात्र सम्झौता भएकाले निर्माण कम्पनीलाई पेस्की ७० लाख मात्र दिएको छ । साउन र भदौमा बर्षाको कारणले काम हुन सकेन ।

अब तिव्रगतिमा रारा खानेपानी योजनाको काम अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाइ छ । पालिकाको गत आब २०८०।०८१ को भौतिक प्रगति विवरण समेत सार्वजनिक गरेको छ । स्थानीय पुर्वाधार बिकास कार्यक्रम तर्फ कुल बजेटको ९५ दशमलव ७८ प्रतिशत खर्च भएको छ । संघीय बित्तीय समानिकरण वडागत योजना अन्तर्गत ९३ दशमलव ३२ प्रतिशत, प्रधानमन्त्री रोजगारतर्फ ९५ प्रतिशत,मुख्यमन्त्री रोजगारतर्फ .९५ प्रतिशत,कर्णाली जलपरियोजा अन्तर्गत.९४ प्रतिशत, संघीय शर्शततर्फ ८८ दशमलव ३२ प्रतिशत,संघीय समपुरतर्फ ४१ दशमलव ५३ प्रतिशत,संघीय विषेशतर्फ ५९ दशमलव ५३ प्रतिशत,प्रदेश शर्शततर्फ ९१ प्रतिशत, र प्रदेश बिशेष र समपुरकतर्फ ३७ दशमलव ५४ प्रतिशत बजेट खर्च भएको तिला गाउँपालिकाले जनाएको छ । पालिकाको कुल विनियोजन बजेट ५१ करोड २४ लाख रहेको थियो ।

तस्बिर : कर्णाली सवाल



तपाईको प्रतिक्रिया