महासागरमा क्रुज तैरीय झैँ तैरिरहेका-
अनिच्छित वाक्यहरूले मनलाई थिचिरहेछन्।
लेख्नै पर्दैन,
सुस्केरा भरिन्छ हरेक पानामा,
एउटै प्रश्नको गहिरो चिहान:
“शब्द किन चाहिन्छ?”
म लेखिरहन्छु –
अनन्त आकाशभित्रको शून्यतामा हराउँदै,
सुस्केराले तानेर पराजित पातहरूलाई –
जसको मर्म सायद कसैले बुझेन,
तर झरेका ती पातहरूले
सधैं जीवनकै बयान गर्छन्।
तर आज _
त्यो पनि छैन।
न वृक्ष, न जीवन, न मृत्युको कथा,
न त विजय न त पराजयको सन्देश।
म लेख्न थाल्छु,
तर मेरा औंलाले आफ्नै छायालाई समात्छन्,
र म अन्धकारको कुना खोज्दै लुक्न खोज्छु।
जहाँ शब्दहरू फेरी जबरजस्त जन्मिन्छन्,
तर के तिनीहरू जीवन देख्न चाहन्छन्?
जीवन दिन मन छैन मलाई शब्दहरू प्रति ।
आज लेख्नै मन छैन मलाई शब्दहरू।
शब्दहरू बन्धनमा छन्,
र हृदय, यो हृदय,
अचानक एक अधुरो प्रश्नमा विलीन _
शब्दहरू किन चाहिन्छ?
सायद जीवनकै प्रश्न हो यो,
जसको उत्तर पनि मौनताभित्रको शब्दमै लुकेको छ।
अनिल घिसिङ/धरान
दुबोखबर । २०८१ असोज १४ गते सोमवार