लागोस २ भदौ । पूर्वी नाइजेरियामा बन्दुकधारीहरुको एक समूहले एक जना चिकित्सक (हाउस अफिसर) सहित २० भन्दा बढी मेडिकल र डेन्टल विद्यार्थीहरुको अपहरण गरेका छन् ।
एनुगु भन्ने ठाउँमा हुँदै गरेको फेडरेसन अफ क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको बार्षिक सम्मेलनमा भाग लिन जाँदै गर्दा उनीहरुलाई बन्दुकधारीहरुले ओटुक्पो क्षेत्रबाट अपहरण गरेका हुन् ।
घटना गत बिहीबार बेलुका ५ : ३० बजेको हो । जोश विश्वविद्यालयका १२ र मैदुगुरी विश्वविद्यालयका ८ गरी कुल २० जना विद्यार्थीहरु अपहरणमा परेको नाइजेरियन मेडिकल एशोसिएसन (एनएमए)ले बताएको छ ।
एनएमएले अपहरितहरुको तत्काल उनीहरुको उद्धार गर्न पनि नाइजेरियाको प्रहरी प्रमुखसंग माग गरेको छ ।
त्यस क्षेत्रमा बन्दुकधारीहरुले अपहरण गर्ने र फिरौती माग्ने गरेका छन् । तर यो घटनामा अपहरणकारीले शनिबारसम्म फिरौती वा सर्त सार्वजनिक नगरेको प्रहरीले जनाएको छ ।
यसैबीच नाइजेरियाका प्रहरी प्रमुख कायोडे इजिबेक्टोकुनले शनिबार अपहरित विद्यार्थी र चिकित्सकको उद्धारका लागि घटना भएको क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको बताए । ‘देशका होनाहार युवाहरुलाई सकुसल उद्धार गर्न राज्यले सबै संयन्त्र प्रयोग गरेको छ । छिटै हामी सुखद नतिजा प्राप्त गर्नेछौँ,’ प्रहरी प्रमुख इजिबेक्टोकुनले भने ।
यता नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने अपहरित मेडिकल विद्यार्थी र चिकित्सकको रिहाइको बदलामा फिरौती मागिएको बताए ।
नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।
नाइजेरियाले गम्भीर आर्थिक सङ्कटका कारण अपहरणमा उल्लेखनीय वृद्धिको सामना गरिरहेको छ ।
राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दाहरू दर्ता भएका छन् ।
दुबोखबर । २०८१ भाद्र २ गते आइतवार