जुम्ला —तीन वर्षदेखि मौरीमा देखिएको रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको टोली जुम्ला आइपुगेको छ । धमाधम मर्न थालेपछि मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अध्ययनका लागि यहाँ आइपुगेको हो ।
टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसी पनि सहभागी छन् । आइतबार जुम्ला आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे छलफल गरिरहेको छ । सोमबार बिहानदेखि मौरी घार हेर्न टोली गाउँ-गाउँसम्म पुगिरहेको छ । जुम्लामा सेराना जातको मौरी पालिँदै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले व्यवसायिक रुपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले हेर्नेछ । उनका अनुसार पहिलो दिन सोमबार पातारासी गाउँपालिका-१ पेरेगाउँमा अध्ययन टोली पुगेको छ । मंगलबार गुठिचौर गाउँपालिकाको गुठिगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गर्नेछ
अध्ययन टोली जुम्ला पुगेकोले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानहरुले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग किराको बारेमा टोलीले अध्ययन गर्ने छ । कार्यालय प्रमुख देवकोटाले भने, ‘मौरीमा देखिएको समस्याले किसान चिन्तित छन् । मौरीहरु मर्नाले घारहरु रित्तिन थालिसके । यो अध्ययनले मौरीमा देखिएको रोगको पहिचान हुनेछ । मौरी बचाउन किसानलाई मद्दत पुग्नेछ ।’
धमाधम मौरी मर्न थालेपछि एक महिनाअघि किसानहरुले जिल्ला प्रशासन कार्यालयमार्फत विज्ञ पठाइदिन भन्दै मौरी विकास केन्द्रमा माग पत्र पेस गरेका थिए । चन्दननाथ-४ का रामकृष्ण बुढ्थापाले पहिचान हुन नसकेको रोगका कारण ५ घार मौरी गुमाएको बताए । मौरी बचाउन उनले धेरै उपाय अपनाए पनि सकेनन् । अहिले उनीसँग एक घार मात्र मौरी छ ।
‘यहाँ मौरीमा समस्या तीन वर्षदेखि देखिएको हो,’ उनी भन्छन्, ‘मौरी बचाउन हामी किसानहरु लागिरह्यौंँ, तर कुनै उपाय लागेन। सबै मौरी गुमायौँ ।’ मौरी घारबाट निस्कने, उड्न नसक्ने र जमिनमा घिस्रिएर मर्ने गरेको छ ।
रामकृष्णले भने, ‘मौरीमा देखिएको समस्या मौरी विकास केन्द्रमा उहिल्यै जाहेर गरिसकेका थियौँ । कुनै अध्ययननै नगरी जाडो र खानाको अभाव देखाउँदै मौरी मरेको निष्कर्ष मौरी विकास केन्द्रले निकाल्यो । आजभोलि जाडो पनि होइन । खाना पनि नपुगेको होइन, धमाधम किन मरिरहेको छ खै ।’ टोली नै किसानको घरदैलोमा पुगेर अध्यययन थर्न थालेपछि उनी खुसी छन् ।
काली बहादुर परियार । २०८१ भाद्र २४ गते सोमवार