चरण छोऊ, वा गोडा ढोग बात एउटै हो !
प्रेम गर या सोमरस चढाऊ मात एउटै हो !
कसैको मधुमास स्वर्णिमरात बन्नसक्ला
असफल प्रेमिहरूलाई हरेक रात एउटै हो ।।
मुखिया बा! छोरोछोरी घरमै थुनेर आइस्येछ
दलित बस्तीमा भो नभन्दिनुस् जात एउटै हो ।।
दुईबर्ष देखि ऋण सापटी उठाउन हिंडिरहेछु
अबत बुझ्देऊ यार लिंने र दिंने हात एउटै हो ।।
श्रुतिमधुर होस् वा सेरअन्दाज, मन छोए गजल!
बाँकी कुरा, चुना हाल या कत्था, पात एउटै हो ।।
लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे
दुबोखबर । २०८१ असोज ७ गते सोमवार