सानो छँदा बाबाआमा प्यारो ठान्ने हामी नै हौं
हुर्केपछि विभेदको रेखा तान्ने हामी नै हौं
स्वभाव पनि बदलिन्छ मान्छे ठुलो भएपछि
समस्याको भारी देख्दा झर्को मान्ने हामी नै हौं ।
– नवराज न्यौपाने
रोपेको पुष्पलाई पनि निर्दयी समयले काँडा बनायो
जुन खुसीले हसाएको थ्यो आज उही खुसीले रुवायो
उसकै सँभारको अभिभारा बोकेर दुर्बल बनाएँ काय
बुढेसकालमा बोझ भनी उही मुटुको टुक्राले मिल्कायो l
– नरेश स्टोन
स्वार्थी हुन्छन् मान्छेहरू, पैसाको पछाडि भागेपछि
बिर्सन्छन् आमाको ममता, मनमा लालचा जागेपछि
पशुपक्षी जस्तै बन्दैछन्, छोराछोरी पनि आजकल
जसरी, बचेराले माउलाई छोड्छन् पखेटा लागेपछि ।
– मधुमास राई
चाहिँदाको भाँडो र नचाहिँदाको ठाँडो भयो
यो जमाना पनि कस्तो र’छ ? फूल काँडो भयो
भन्न त भन्छन् देन उनकै हो, भगवान हुन् उनी
तन दिने मन सम्हाल्ने आमा कसरी घाँडो भयो ?
– दीप आर.के. निश्चल
निर्दोष मनको त्यो अबोध बालापनमा अचम्म कै सोच बन्छ
एउटी आमा साथी गुरु भगवान संसारको सबथोक बन्छ
उमेरसंगै जसको बढ्छ स्वार्थ जो बन्छ अधर्मी अविवेकी
त्यस्ता कुसन्तानका लागि मात्र वृद्ध बाबू आमा बोझ बन्छ ।
– शोभा शाह थापा
दुबोखबर । २०८१ मङ्सिर १० गते सोमवार