स्थानीय सरकारद्वारा बालबालिकाकाे क्षेत्रमा लगानी प्रतिबद्धता

स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबारका दिनमा किर्डाक नेपाल जुम्लाले आयोजना गरेको बाल अधिकार, स्रोतमा पहुँच सम्बन्धि बालबालिका तथा युवाको नेतृत्वमा संवाद कार्यक्रम सहभागि स्थानीय सरकार जनप्रतिनिधिहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बालबालिकाले बालबालिकाका  सवाललाई स्थानीय सरकारले वेवस्ता गरेको आरोप लगाएका छन् । उनिहरुले स्थानीय सरकारले बालबालिका क्षेत्रमा नीति तथा कार्यक्रम ल्याउन नसक्नु बिडम्बना भएको बताएका हुन् । यस्तै नगर बाल संजालका अध्यक्ष गोकर्ण सुनारले बाल अधिकारका विषयमा स्थानीय सरकार बेखर भएको बताए । उनले भने बाल सहभागिता र बाल अधिकारका विषयमा सरकार विमुख हुनु दुःखत पक्ष भएको बताए ।

संविधानले पनि बालबालिकाको अधिकार सुनिश्चित गरेको छ । तर, स्थानीय सरकार बालबालिकाको विषयमा संवेदनशिल हुन नसकेका कारणले बालबालिकामा विभिन्न हिंसा हुने गरेकाे बताए ।

बाल सहभागिता सहित सरकारले बालबालिकाको क्षेत्रमा लगानी र कार्यक्रम गर्न सुनारले माग गरेका छन् । पढाई दिने बाहनामा हुने खाने घरका व्यक्तिले बालबालिकालाई राखेर बालश्रम गर्दै आएको समेत उनकाे आराेप रहेको छ ।

बालबालिकाले उठाएका कुरामा स्थानीय सरकार गम्भिर भएको सहभागि स्थानीय सरकारका अध्यक्ष र उपाध्यक्षहरु बताएका छन् । राज्यका बलिया खम्बाहरुको विकास र समृद्धिका लागि स्थानीय सरकार तयार रहेको गुठीचौर गाउँपालिका अध्यक्ष दानवहादुर बुढाले बताए । उनका अनुसार, बालबालिकाको चौतर्फि विकासका लागि सरकार तयार रहेको बताए ।

यस्तै चन्दननाथ नगरपालिका जुम्लाकी उपप्रमुख रामदेवि खड्काले बालश्रम न्युनिकरण र बालबालिकाको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आएको बताइन् । उनले भनिन् आगामी दिनमा बालबालिका लक्षित नीति तथा कार्यक्रम तय गरिने बताइन् ।

संवाद कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालबालिकाका सवालमा भएको संवादले नीति निर्माणमा सहयोग गर्ने बताए । भौतिक विकासलाई मात्र जोड नदिई बालबालिका लगायतका क्षेत्रमा काम गर्दा राज्यले लिएको लक्ष्य पुरा हुने उनकाे भनाइ छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बालबालिकाका विषयमा सरकार संवेदनसिल हुनु पर्ने बताए। उनका अनुसार, बाल सहभागिता र बाल संरक्षणलाई सरकारले प्राथमिकता दिनु पर्ने बताए । संवाद कार्यक्रमका अवसरमा बालविवाह अन्त्यको लागि स्थानीय सरकारले रणनीति योजना निर्माण गरि अभियान चलाउन प्रतिबद्धता गरेका छन् । संवाद कार्यक्रम मार्फत १५ बुदे घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले प्रत्येक बर्ष योजना निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने र बालबालिकाको क्षेत्रमा बजेट छुट्याउने बताएका छन । किर्डाक नेपालको आयोजना, वल्डभिजन इन्टरनेशनल नेपाल र प्लान इन्टरनेशल नेपालको सहयोगमा संवाद कार्यक्रम गरिएको हो ।



तपाईको प्रतिक्रिया