जुम्लाको विकट बस्तीबाट भारतको कर्नाटकसम्मको यात्रा र त्यसमा भएको अद्वितीय सफलता नेपाली खेलकुद इतिहासमा स्मरणीय बनेको छ।
८ औं टेकिओन मलनद अल्ट्रा ट्रेल रेसमा जुम्लाका तीन युवा धाविकाहरूले आफ्नो पहिलो अन्तर्राष्ट्रिय दौडमै उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णिम उपलब्धि हासिल गरेका छन्।
राज्यलक्ष्मी रावल, मिमु बुढा र कल्पना बुढाले यो दौडमा भाग लिँदै प्रतिस्पर्धीलाई पछि पार्दै आफ्ना श्रेणीहरूमा शीर्ष स्थान ओगट्न सफल भए।
राज्यलक्ष्मीले ५० किलोमिटरको दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरिन भने मिमु बुढाले सोही दौडमा ५० दोस्रो स्थान हासिल गरिन्। त्यसै कल्पना बुढाले ३० किमिको दौड प्रतियोगितामा पहिलो स्थान हासिल गर्न सफल भइन्।
उनीहरूको यो सफलता केवल व्यक्तिगत रूपमा प्रेरणादायी नभएर नेपालको खेलकुद इतिहासमा एउटा कोसेढुंगा साबित भएको छ।
टेकिओन मलनद अल्ट्रा रेस भारतको एउटा प्रतिष्ठित दौड प्रतियोगिता हो। जुन मलनद अल्ट्रा कर्नाटकको चर्चित दौड हो।
जसलाई एटीएम (एशिया ट्रेल मास्टर), आईटीआरए (इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन) र यूटीएमबी (अल्ट्रा-ट्रेल डु मोंट ब्लाङ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले मान्यता दिएका छन्।
यो भारतको एकमात्र यस्तो दौड प्रतियोगिता हो, जसमा देश-विदेशका धावकहरू आफ्नो फिटनेस, सहनशीलता र आत्मबलको परीक्षा दिन भेला हुन्छन्।
मलनद अल्ट्रा विभिन्न कठिन श्रेणीका दौडहरूमध्ये आफ्ना प्राकृतिक ट्रेल, उकालो-ओरालोको चुनौतीपूर्ण बाटो र गरम मौसमका कारण परिचित छ।
यस वर्षको दौडमा जुम्लाका तीन धाविकाहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो श्रेणीमा शीर्ष स्थान हासिल गरे। जसले जुम्ला मात्रै होइन देशकै सान उचो बनाएको छ।
पहिलो अन्तर्राष्ट्रिय सहभागितामा अपराजेय प्रदर्शनतीनै जना धाविकाहरूका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो। तर यो सीमित अनुभवको बाबजुद उनीहरूले सयौं प्रतिस्पर्धीलाई पछि पार्न सके।
यस अद्भुत सफलताले नेपाललाई विश्व ट्रेल दौडको मञ्चमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
आधारभूत खेलकुद पूर्वाधारको अभाव भएको जुम्लाबाट सीमित स्रोत-साधन, कठिन भौगोलिक अवस्था र खेलकुदमा सीमित अवसरबीच पनि यी खेलाडीहरू आफ्नो परिश्रम र आत्मविश्वासका कारण आज अन्तर्राष्ट्रिय स्तरमा चम्कन सफल भएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए।
“यी खेलाडीहरूको सफलता पछाडिको महत्त्वपूर्ण स्रोत भनेको कर्णाली स्पोर्ट्स क्लब हो,” उनले भने, “जसले खेलाडीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नका लागि थोरै भए पनि सहयोग पुर्याएको छ।”
उनका अनुसार यो सफलता केवल खेलकुदमात्र नभई कर्णाली क्षेत्रकै प्रतिभा उजागर गर्ने अवसर समेत हो।
मलनद अल्ट्राका आयोजकहरूले नेपाली टोलीलाई सहयोग र उत्कृष्ट आतिथ्य प्रदान गरेका थिए।
रेस निर्देशक आनन्द र उनको टोलीले खेलाडीहरूलाई दौडको तयारी र व्यवस्थापनमा हर सम्भव सहयोग गरेको अध्यक्ष शाहीको प्रतिक्रिया छ।
उनले कर्णाली स्पोर्ट्स क्लबको तर्फबाट आयोजकहरूप्रति आभार प्रकट गरे।
राज्यलक्ष्मी, मिमु र कल्पनाको सफलताले नेपालका लाखौं युवाहरूलाई खेलकुदमा भविष्य बनाउन प्रेरणा दिने गिनिज बुक अफ वर्ल्ड रेकर्डेट धावक हरि रोकायाले प्रतिक्रिया दिए।
विशेषगरी जुम्ला लगायत कर्णाली क्षेत्रका बालबालिका र युवाहरूले आफ्नो कठिनाइ र सीमितताबीच पनि विश्व मञ्चमा चम्किन सकिन्छ भन्ने भाष्य निर्माण हुने उनको बुझाई छ।
“यो सफलता ‘दुर्गम क्षेत्रका प्रतिभा उजागर गर्ने उदाहरणीय घटना’ हो,” उनले भने, “यो मात्र सुरुवात हो। नेपालका विकट क्षेत्रहरूमा यस्ता थुप्रै प्रतिभा छन्।”
उनका अनुसार ती खेलाडीलाई अवसर र सहयोग प्रदान गर्न सकियो भने नेपाललाई विश्व ट्रेल रेस मञ्चमा अग्रस्थानमा पुर्याउन सकिन्छ।
राज्यलक्ष्मी, मिमु र कल्पनाको सफलताले जुम्ला र कर्णाली क्षेत्रका बासिन्दालाई गौरवान्वित तुल्याएको छ। उनीहरूको यो यात्रा प्रेरणा र गर्वको स्रोत भएको अध्यक्ष शाहीको प्रतिक्रिया छ।
उनका अनुसार यी र यस्तै धाविकाहरूले अब अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर प्रतिस्पर्धा गर्ने लक्ष्य लिएका छन्। उनीहरू आगामी वर्षहरूमा हुने विभिन्न ट्रेल रेसमा भाग लिने तयारीमा जुटिसकेका छन्।
राज्यलक्ष्मी, मिमु र कल्पनाले आफ्नो सफलतासँगै अन्य युवाहरूलाई खेलकुदमा सक्रिय हुन हौसला प्रदान गर्ने उद्देश्य राखेको प्रतिक्रिया दिएका छन्।
राज्यलक्ष्मी, मिमु र कल्पनाको यो यात्रा केवल उनीहरूको व्यक्तिगत सफलता होइन। यो कर्णाली र सम्पूर्ण नेपालको सफलता हो।
विकट बस्तीबाट सुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय मञ्चमा पुगेको छ। यसले नेपालका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फलकमा चम्काउने मार्ग प्रशस्त गर्नेछ।
उनीहरूको साहस, मेहनत र उपलब्धिले नेपाललाई खेलकुदको नयाँ युगमा प्रवेश गराउने छ। यो सफलता न सुरुवात हो नत अन्त्य नै। यो त एक अबिराम शृङ्खला हो। जो निरन्तर चलिरहनेछ।
दुबोखबर । २०८१ मङ्सिर १० गते सोमवार