जुम्ला – जुम्ला कारागारका कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा शनिबार शिविर सञ्चालन गरी कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।
कारागारमा रहेका पाँच जना महिलासहित १२० जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने, प्रतिष्ठानका डाक्टर शुभाङक प्याकुरेल नेतृत्वमा आएको पाँच जनाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
स्वास्थ्य परीक्षणमा विशेषगरी कैदीवन्दीमा ग्याष्टिक, मानसिक समस्या, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको स्वास्थ्यकर्मीले बचाएका छन् । यसअघि साउन २० गते खत्याड गाउँपालिका–३ मुगु घरभई हाल जुम्ला कारागारमा रहेका ३४ वर्षीय प्रदिप टमटाको मृत्यु भएको थियो । उच्च रक्तचापका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले स्वास्थ्यमा ध्यान दिईएन जोखिम हुने बताए । उनले भने, समय समयमा स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । सोही बमोजिम कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । आगामी दिनमा पनि यस्ता कार्य गर्नेछौँ ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बेला बेला स्वास्थ्य परीक्षण गरेमा अचानक हुने मृत्युबाट बच्न सकिन्छ । खानपिन र आहारविहारमा ध्यान दिन सकेमा स्वास्थ्यमा आउने समस्याबाट छुटकारा पाउन सकिन्छ, उनले भने ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुधार गृहका रुपमा राज्यले कारागारलाई विकास गर्न खोजेको बताए । उनले भने, विभिन्न कारणले जेल जीवन बिताई रहेका कैदीवन्दीलाई सीप विकास तालिम सञ्चालन गर्न समन्वय र सहजिकरण गर्नेछौँ ।
काली बहादुर परियार । २०८१ भाद्र २ गते आइतवार