जुम्लाको तातोपानी–४ नियापानीका मुकेन्द्र सार्की बिद्यालय जान नसक्ने भएकाले उनका लागि तातोपानी गाउँपलिकाले घरमै शिक्षकको व्यवस्था गरिदिएको छ । उनी शारीरिक रूपमा अशक्त भएकोले घरमै पढाउने शिक्षकको व्यवस्था गरिएको हाे ।
उनी बिद्यालय जान नसक्ने भए पनि अब देखि घरमै बसेर उनले शिक्षा आर्जन गर्ने भएका छन् । शारीरिक र बोली सम्बन्धी समस्या भएका मुकेन्द्रको शिक्षा हासिल गर्ने इच्छाशक्ति देखेर सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र किडार्क नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाले उनलाई घरमै शिक्षिका उपलब्ध गराएको छ।
यस अभियानअन्तर्गत सोही गाउँकी सावित्री नेपालीलाई मुकेन्द्रको व्यक्तिगत शिक्षिका नियुक्त गरिएको छ। सावित्रीले मुकेन्द्रलाई पढाउन पाउँदा आफूलाई खुसी लागेको बताइन् । अपाङ्गता भएका विद्यार्थीहरूले शिक्षामा संलग्न हुन पाउँदा आफ्नो पेशालाई सामाजिक रूपान्तरणको माध्यम बनाउन पाएको उनको अनुभव छ। सावित्रीको समर्पण र मुकेन्द्रको जिज्ञासु स्वभावले शिक्षा मात्र नभई समानताको नयाँ ढोका खोल्ने काम गरेको छ।
मुकेन्द्रका बुबा भद्रविर सार्कीले आफ्नो जीवनमा यो सहयोग ठूलो राहत बनिरहेको बताए । उनका आँखामा देखिएको खुसीका आँसुले गाउँपालिकाको यो प्रयासको महत्त्व झल्काएको छ। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले मुकेन्द्रको जस्तो अपाङ्गता भएका बालबालिकाका लागि सेवा र सुविधाको ग्यारेन्टी गर्न आफूहरू कटिबद्ध रहेको बताए। सहयात्रा परियोजनाले यस प्रक्रियालाई सहज बनाएको भन्दै उनले अपाङ्गता भएका बालबालिकाको शिक्षामा प्राथमिकता दिनु सामाजिक न्यायको अभिन्न हिस्सा भएको उल्लेख गरे।
“यस परियोजनाले मुकेन्द्र मात्र होइन, अपाङ्गता भएका अन्य व्यक्तिहरूको जीवनमा पनि परिवर्तन ल्याउने प्रयास गरेको छ,” अध्यक्ष चौलागाईंले भने, “शिक्षिकाको माध्यमबाट आधारभूत शिक्षा दिनुका साथै फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ।”
काली बहादुर परियार । २०८१ मङ्सिर २५ गते मङ्गलवार