हिमा गाउँपालिकाको आ.व २०८०/८१ को सार्वजनिक सुनुवाइ सम्पन्न

हिमा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य अमरजंग शाही सहभागी थिए। कार्यक्रममा गाउँपालिकाले गत वर्षको आर्थिक प्रगति, जनताका सेवामा देखिएका उपलब्धि र आगामी योजनाहरुको बारेमा छलफल गरियो।

प्रमुख अतिथि शाहीले कार्यक्रममा सम्बोधन गर्दै चुनावमा प्रतिस्पर्धी भए पनि आफूले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै गाउँपालिकाको सकारात्मक प्रयासलाई समर्थन गरेको बताए। उनले हिमाले जनताको सेवालाई प्राथमिकतामा राखेर काम गरेको र यसले जनतालाई खुशी बनाएको उल्लेख गरे।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले आफुले चुनावका बाचाहरु पूरा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको बताए। उनले गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक, विपन्न र अपांगता भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जानकारी गराए। यसबाट हिमाका नागरिकहरुले स्वास्थ्य सेवा लिन सहजता महसुस गरेका छन्।

यस्तै, उपाध्यक्ष सुर्पुना शाहीले विकास निर्माणका काममा गुणस्तर कायम राख्न र सेवामा निरन्तर सुधार गर्न अनुगमनमा विशेष ध्यान दिएको बताइन्। उनले समृद्ध र सुदृढ गाउँपालिका बनाउने लक्ष्यमा कुनै पनि सम्झौता नगरेको स्पष्ट पारिन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर रोकायाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षमा जम्मा ४५ करोड १० लाख २८ हजार पाँच सय २२ रुपैयाँ निकास भएको र त्यसमध्ये ४२ करोड ७५ लाख ९१ हजार एक सय ८८ रुपैयाँ खर्च भई दुई करोड ३४ लाख ३७ हजार तिन सय ३४ रुपैयाँ बचत भएको जानकारी गराए।

कार्यक्रम सिन्जा मल्टिमिडिया प्रालिको सहजिकरण र कुटीरो रिसर्च सेन्टरको समन्वयमा सम्पन्न गरिएको थियो। कार्यक्रममा हिमाले उपलब्ध गराइरहेका सेवाबारे नागरिक सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरियो, जसमा जनताले गरेको मूल्यांकन र सन्तुष्टि स्तरको विश्लेषण गरिएको थियो।

सार्वजनिक सुनुवाइको यस कार्यक्रमले हिमा गाउँपालिकाको उपलब्धि र जनताका आवश्यकताबारे प्रत्यक्ष जानकारी गराएको छ, जसले जनताको सहभागिता र पारदर्शितामा अझ सशक्त बन्ने संकेत गरेको छ।



तपाईको प्रतिक्रिया