तलब र बढुवाकाे माग गर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक-कर्मचारी आन्दोलित

जुम्ला —कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । आफूहरूको लामो समयदेखि बढुवा नभएको भन्दै ५८ जना बढुवाका योग्यता पुगेका शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् ।

सोमबार उनीहरुले कालोपट्टी बाँधेर कार्यालयको कामकाज गर्दै प्रतिष्ठान परिसरमा पत्रकार सम्मेलनमार्फत माग सार्वजनिक गरेर आन्दोलन घोषणा गरेका हुन् । उनीहरुले कात्तिक २७ गते मंगलबार पेनडाउन गर्ने, बुधबार प्रक्रिया पुगिसकेकालाई बढुवा गर्न नसकेको बारे सर्वदलीय बैठक बोलाइदिन जिल्ला समन्वय समितिसँग आग्रह गर्ने र बिहीबारसम्म पनि पदाधिकारीले कुनै सुनुवाइ नगर्ने स्थिति भए अस्पतालबाहेकका सबै सेवा ठप्प पार्ने र नियमित आन्दोलन जारी राख्नेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

लामो समयदेखि प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारीलाई स्तरोन्नतिको प्रक्रिया अगाडी बढाउन नखोज्नु बिडम्बना भएको विज्ञप्ति मार्फत जनाएका छन् । यसअघि पनि प्रतिष्ठानका बढुवाको योग्यता पुगेका १० जना कर्मचारीहरुलाई पदाधिकारीले बढुवा गर्न नमान्दा अदालतमा मुद्दा परेको थियो । उच्च अदालत सुर्खेतको जुम्ला इजलासले कर्मचारीहरुको पक्षमा आदेश दिएको थियो । अदालतको फैसला कार्यन्वयन गर्न समेत पदाधिकारीले नमानेपछि कर्मचारीले फेरि आन्दोलन थालेका थिए ।

त्यसपछि २०८० भदौ २१ गते दुई पक्षीय सम्झौता भइ असोज ८ गते बढुवाको पत्र दिइएको थियो । अहिले पनि त्यही अवस्था दोहोरिएको कर्मचारीहरुको भनाइ छ । उतिबेला बाँकी सबै स्थायी कर्मचारीको बढुवा प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने र बढुवा नहुन्जेलसम्मका लागि योग्यता र प्रक्रियाका आधारमा थप जिम्मेवारी दिनेलगायतका ६ बुँदामा प्रतिष्ठानका कर्मचारी र पदाधिकारी बीच सम्झौता भएको थियो ।

अहिले प्रक्रियागत रुपमा ५८ जना शिक्षक तथा कर्मचारी बढुवाको सुचीमा परेका छन् । तर पदाधिकारीहरु बढुवा गर्न मानिरहेका छैनन् । भदौ २६ गते अदालतले कर्मचारीको पक्षमा फैसला सुनाएको थियो । अदालतको पूर्णपाठ आइसकेपछि असोज १६ र कात्तिक ९ गते कर्मचारीहरुले लिखित रुपमै फैसला कार्यन्वयनका लागि पदाधिकारी समक्ष निवेदन दिए पनि कुनै प्रतिक्रिया नआएको उनीहरुको गुनासो छ ।



तपाईको प्रतिक्रिया