कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने भएका छन् । यहि कार्तिक २८ गते हुने समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति ओली जुम्ला आउने भएका हुन् । गत भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दीक्षान्त समारोह स्थगित भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मङ्गल रावलका अनुसार दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली यहि कार्तिक २८ गते हुने दिक्षान्त समारोहमा आउने बताए । कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको उपकुलपति रावलले बताए ।
प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाटन गर्ने सहितका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री जुम्ला आउन लागेको जानकारी गराए । दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत जुम्ला आउने कार्यक्रम रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
यस्तै कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डवलबहादुर धामीका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना बिद्यार्थी दिक्षित हुने बताए । गत भदौ २३ गते प्रधानमन्त्रीको व्यस्तताको कारण दीक्षान्त समारोह स्थगित गरी कात्तिक २८ गते तोकिएको थियाे । भदौ २३ मा दीक्षान्त समारोह हुन नसक्दा चौतर्फी आलोचना समेत भएको थियो । दीक्षान्त समारोहका लागि सबै तयारी पुरा भई सकेको प्रतिष्ठानले जनाएको छ ।
काली बहादुर परियार । २०८१ कार्तिक २५ गते आइतवार