अव्यवहारिक छ शिक्षा, खण्डहर छन् बिद्ध्यालय पनि
अस्तब्यस्त छ स्वयं सरकार, छैन चिन्ता संशय पनि
हामी पनि उस्तै त हौँ नि मुर्तिवत सदासर्वदा जडझैँ
हामीमा न त छ कुनै उत्कण्ठ, न जय विजय पनि l
– डि. पी. बास्तोला
शिक्षाको त्यो मन्दिर, जहाँ सरस्वतीकाे बास छ
पढेर ठूला बन्लान् सन्तान, मनमा यही आस छ
पठाउँदा पनि चिन्ता छ, फर्कन्नन् कि भरे भनि
ढुक्क छैन मन कहिल्यै, सधैं अनिष्टकाे त्रास छ ।
– मुरारीराज मिश्र
शिक्षाका योद्धा हौँ कलमको हतियार बोक्नु छ हामीले
विचारको घनले कुविचारको पहाड फोड्नु छ हामीले
हाम्रो लक्ष्यको बिचमा आएको बाधालाई काबुमा राखी
यहाँ अबोधको बाँझो खनेर बोधको फूल रोप्नु छ हामीले l
– नरेश स्टोन
बादलले छेकेपछि विधार्थी प्रभातको लाली कसरी बनुन्
दूध नभएपछि नौनीका लागि चाहिने छाली कसरी बनुन्
वाटिकाभित्र रहेर के गर्ने? भित्तोसँगै मन चर्किदै गएपछि,
सुगन्धित वासना दिने हसना फूलको डाली कसरी बनुन् ।
– ऋषिराम भुसाल
तिलक गाउँले
तिमीले भत्केको पर्खाल देख्यौ मैले शिक्षाको दियो देखेँ
हेर्ने नजरले फरक पर्ला भविष्य सिलाउने त्यहाँ सियो देखेँ
यहाँ त भत्केको भएपनि छानो छ नाङ्गो आकाश त छैन।
भट्टिमा खारिएर यिनै बालबालिका देश हाँक्ने मियो देखेँ ।
– तिलक गाउँले
दुबोखबर । २०८१ भाद्र ३ गते सोमवार