विराटनगर —कोशी प्रदेश सरकारले आफ्नो कार्यकालमा घोषित कार्यक्रमहरु नियोजित रुपमा कटौती गरेको विरोधमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मंगलबार अपराह्नदेखि आमरण अनशन सुरु गरेका छन् ।
विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि उनले अनशन सुरु गरेका हुन् । उनले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा कार्यक्रम बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने, शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी मोरङ केशलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायतका जनप्रिय कार्यक्रम मुख्यमन्त्री कार्कीले कटौती गरेको आरोप लगाएका छन् ।
‘हिक्मत कार्की नेतृत्वको सरकारले त्यसलाई कटौती गरेर नेता–कार्यकर्ता पोस्ने गरी वितरणमुखी कार्यक्रम ल्याएपछि अनशन बस्न बाध्य भएको हुँ’, कार्कीले पत्रकारहरुसँग भनेका छन् ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरेका हुन् ।
पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरिएको छ ।
काली बहादुर परियार । २०८१ भाद्र २५ गते मङ्गलवार