जुम्ला बहुमुखी क्याम्पसमा शिक्षकले गरे तालाबन्दी

जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा तलाबन्दी गरिएको छ। त्रि. वि. आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा ताला लगाएको हो।

सबै कानुनी प्रक्रिया पूरा गरि नियुक्त भएका शिक्षकहरुलाई बेलाबेला अपमान गर्ने, होच्याएर बोल्ने, जिम्मेवारी दिएको अवस्थामा समेत पारिश्रमिक नदिने, श्रम शोषण गर्ने जस्ता अमर्यादित कार्य गरिएको भन्द ताला लगाइएको त्रि. वि. आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिका अध्यक्ष शुवाशचन्द्र शाहीले बताए।

‘बारम्बार ध्यानाकर्षण गराउँदा पनि शिक्षकहरुको अपमान गराउने काम भएको हुँदा माग सम्बोधन नहुन्जेलका लागि क्याम्पसको लेखा शाखा, प्रशासन खाशा र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ,’ उनले भने।

‘त्रिवि कार्यकारी परिषद्‌को निर्णयले शिक्षण सहायकले पाउने पारिश्रमिक र सेवा सुविधा समेत दिने उल्लेख गरे पनि अतिरिक्त कुनै सुविधा नदिएको तथा लिखित जिम्मेवारी दिइएको अवस्थामा समेत तोकिएको सेवा सुविधा नदिई होच्याउने गरि बोल्नु घोर अपमान भएको हाम्रो ठहर छ। जुम्ला बहुमुखी क्याम्पसमा त्रिवि कार्यकारी परिषद्‌को निर्णय अनुरुप नियुक्त शिक्षकहरुको हकहित दिनुको साटो उल्टो मान मर्दन गर्ने काम भएको हुँदा सहेर बस्न नसकिने हुनाले तालाबन्दी गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

जुम्ला बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन तथा संचालक समितिको विभिन्न बैठकबाट पारित भएका निर्णय अनुरुप पदीय जिम्मेवारी दिइएका शिक्षकहरुलाई सेवा सुविधा नदिई गरिएको अपमानजनक व्यवहार गरिएको अध्यक्ष शाहीले बताए।

‘करारका शिक्षकहरुको हकहित र मान मर्यादाको अवहेलना गरेकाले अन्य पाउने सेवा सुबिधाको माग गर्दा समेत नदिएको हुनाले अन्तिम विकल्प प्रयोग गर्न बाध्य भएका छौं,’ उनले भने, ‘यो आन्दोलनबाट हुने सम्पूर्ण समस्याको सम्पूर्ण जिम्मेवारी स्वयम क्याम्पस प्रमुखले लिनुपर्ने छ।’



तपाईको प्रतिक्रिया