शत्रु र मित्रको सम्बन्ध चुकाउने दिन पनि आयो
सेतो खाएर कालो धन लुकाउने दिन पनि आयो
उसलाई दान गर, धर्म गर भन्दा कहिल्यै मानेन
लोभीको धन ढुसी परेर सुकाउने दिन पनि आयो l
– विनोद रिजाल
अँध्यारै हुन्छ पापीको जीवन लाख बत्ती बालेपनी
च्यात्तिएका लुगाले ढाक्दैन इज्जत जति टालेपनी
टेबुलमुनीबाट प्राप्त धन सधैं कालो हुन्छ भन्ने बुझौं
श्वेत हुन्न भन्ने उदाहरण छन् गंगा लगेर पखालेपनी ।
– एस.पि. असफल
नपाउनेलाई धन सम्पत्ति कस्तोकस्तो भयो
अभावको अघि आकाशको चाँद जस्तो भयो
जिन्दगी धरापमा राख्दा पनि कमाउन सकिन्न
कसैलाई रुपैयाँ पनि, पतकर भन्दा सस्तो भयो ।
-गंगाराम बुढामगर
भ्रष्ट नेता लुक्छन् सजिलै सुन लुक्छ
नटोक्ने भुस्या कुकुर झन् धेरै भुक्छ
यहाँ नसुक्ने त जनताको परेली हो
कालो मुखको नोट जहाँ सुकाएनि सुक्छ ।
– सृष्टि एरी
मान्छेले बनाएको पैसाले मान्छेलाइ नचाउन सक्छ
कसैलाइ मार्छ अनी कसैको जीवन बचाउन सक्छ
सबै कागजले एकपटक भिजेर आफ्नो अस्तित्व गुमाए
पैसा चाम्रो छ र त बारम्बार घाम पानी पचाउन सक्छ
– प्रदीप सापकोटा
दुबोखबर । २०८१ भाद्र १७ गते सोमवार