दुबाे खबर
जुम्ला – सिंजा गाउँपालिका मुकाम नराकोटमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । गाउँपालिका र पेस नेपाल जुम्लाको साँझेदारीमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकामा आईपर्ने विपत व्यवस्थापन गर्न र राहत उद्धारका कार्य गर्ने उद्देश्यले स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा गाउँपालिकाको ६२ हजार एक सय रुपियाँ र पेस नेपालको तर्फबाट ६१ हजार रुपियाँ गरी एक लाख २३ हजार एक सय रुपियाँ बराबरको उद्धार सामग्री राखिएको छ ।
त्रिपाल ७ थान, सावेल ६ वटा, विल्चा ६ वटा, बुट ३० जोर, प्रथामिक उपचारका बक्स ६ वटा, लाइफ जाकेट ३ वटा, लाइट जाकेट २४ वटा, हेल्मेट २४ वटा, स्टेचर ४ वटा, डोरी ४ रोल र ग्यास फायर ६ वटा आपतकालिका कार्य सञ्चालन केन्द्रमा राखिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै विपद् सम्र्पक व्यक्तिको रुपमा एक जना कर्मचारी दिपराज रोकायालाई तोकिएको गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् । उनले भनिन् पेस नेपाल र गाउँपालिकाको लागत साँझेदारीमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको हो । जसले गर्दा विपद्मा राहत उद्धार कार्य गर्न सहज हुने छ ।
लागत साँझेदारीसहित गाउँपालिकालाई विपद् र जलवायू अनुकुलनका सन्दर्भमा क्षमता विकास गर्ने र यसमा प्राविधिक सहयोग गर्ने संस्थाको भुमिका रहेको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले बताए । उनले भने, विपद् कार्यदलको क्षमता विकास गर्ने र विपद् जोखिम न्यूनिकरण सम्वन्धी सचेता कार्यक्रम सञ्चालन गर्ने भुमिका रहेको छ ।
दुबोखबर । २०८१ साउन २८ गते सोमवार