चन्दननाथ भैरवनाथ मन्दिरको पूर्वतिर निर्माण भएको यज्ञशाला (विवाह मण्डप) भत्काईएको छ । पुरातत्व विभागको २०७९ पुष १८ र २०८१ भदौ २६ गतेको पत्र अनुसार विवाह मण्डप भत्काईएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्था समितिका अध्यक्ष अमरवहादुर थापाले बताए । पुरातत्व विभागले दुई पटक गरेको परिपत्रको पालना गर्दै मन्दिर भित्र निर्माण भएको आधुनिक संरचना तत्कालै हटाउन उल्लेख गरेको उनकाे भनाइ छ ।
पुरातत्व विभागको पत्रका आधारमा २०८१ मंसिर ५ गते गुठि व्यवस्था समिति जुम्लाले मंसिर ११ गते विवाह मण्डप भत्काउने निर्णय भए अनुसार डोजर प्रयोग गरि भत्काईएको थापाले बताए । २०७८ सालमा पूर्णसिंह कठायत गुठि व्यवस्था समितिको अध्यक्ष भएका बेला ९ लाख मन्दिरको रुपैयाँ र ३ लाख अन्य व्यक्तिको सहयोगबाट करिब १२ लाख रुपैयाँमा विवाह मण्डप निर्माण भएको थियो ।
निर्माण भएको तिन वर्ष नपुग्दै विवाह मण्डप भत्काईएको प्रति पूर्वअध्यक्ष पूर्णसिंह कठायतले आक्रोस व्यक्त गरेका छन् । विवाह मण्डप निर्माण गरेको प्रतिशोध साध्नका लागि भत्काईएकोे कठायतले आराेप लगाए । मन्दिर भित्र सिमेन्ट प्रयोग गरी निर्माण भएका सबै भवनहरु पनि भत्काईनु पर्ने कठायतकाे भनाइ छ । सर्वसाधरणले सहज रुपमा विवाह गर्न पाएको मण्डप भत्काईनु गलत कठायतले बताए ।
यस्तै गुठिका अध्यक्ष अमर थापाले पुरातत्व विभागकोे आदेशलाई पालना गर्नकाे लागि भए पनि भत्काउन पर्ने बताए । उनका अनुसार भत्काउनु पर्छ भन्ने पक्षमा समितिका पदाधिकारी छैनन् । पुरातत्व विभागसँग समन्वय र सहकार्य नगरी त्यतिबेलाको समितिले विवाह मण्डप बनाएको हुनाले भत्काउन परिपत्र भएको थापाले बताए ।
काली बहादुर परियार । २०८१ मङ्सिर १२ गते बुधवार