नकारात्मक सोचले डेरा जमाउन थाले विफलता भेटिन्छ
सङ्घर्षको मैदानबाट गुफा पस्ने हो भने घाम पनि छेकिन्छ
हो..सकारात्मक सोच र स्वच्छ मनले विश्वास राख्ने हो भने,
माटामुनि फल्ने वनस्पतिमा पनि ईश्वरको स्वरूप देखिन्छ !
– रवि श्रेष्ठ
प्रकृति कतै सुख्खा, फुटेको जमीन कतै हराभरा हो
कोही कतै हाय ! हाय ! कतै उही कठैबरा हो
जताततै उसकै बयान सिर्जना र हात उसकै
भगवान् त आस्था र विश्वाश न हो मूर्ति त परम्परा हो ।
– कल्पना दाहाल
भक्ति, आस्था र विश्वासले हर् संसारमा ईश्वर भेटिन्छन्
विशाल मनको निष्पाप सोच र आचारमा ईश्वर भेटिन्छन्
मठ मन्दिर बनाएर, ढुङ्गाको मुर्ति पुजेर भेटिन्नन् देवता
निःस्वार्थ सेवा गर्ने हर् मनुको अनुहारमा ईश्वर भेटिन्छन् !
– गोपाल पुन
शान्त हुनेछ मन, जब मिथ्या भित्र पवित्र देख्नेछौ
निस्वार्थ प्रेम गर सबैमा भगवानको चरीत्र देख्नेछौ
जल,फूल,नैवेद चढाउनु पर्दैन, मनमा धर्म पालेपछि
घरमै विष्णु, शिव, बुद्ध र गणेशको चित्र देख्नेछौ ।
– गंगाराम बुढामगर
आस्थाले हेर्न सके भगवान् स्वरुप मनभित्र हुन्छ
पहिचान गर्न सके हरेक वस्तुमा देवको चित्र हुन्छ
प्रकृतिको सृष्टि पनि अनौठो देख्न पाइन्छ जगतमा
बाहिर फ्याकिएको ढुङ्गा मन्दिरमा राखे पवित्र हुन्छ ।
– संगी काली
दुबोखबर । २०८१ मङ्सिर ३ गते सोमवार