अफ्रिकी मुलुकमा मङ्कीपक्सको बढ्दो संक्रमणपछि डब्लुएचओद्धारा स्वास्थ्य आपतकालीन घाेषणा

काठमाडौँ, ३१ साउन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी मुलुकहरुमा बढीरहेको मङ्कीपक्स (एमपक्स)को संक्रमणलाई लिएर स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमक निकायको आपतकालीन समितिको बैठकपछि सदस्यहरुले दिएको सुझावको आधारमा डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेका हुन् ।

डब्लुएचओले बुधबार १३ अफ्रिकी मुलुकमा एमपक्सका केशहरु फेला परेको र यसको नयाँ भेरियन्टमा फैलिरहेको बताएको छ ।

डब्लुएचओले दुई बर्ष भित्र एमपक्सको संक्रमणलाई लिएर दोस्रो पटक विश्वव्यापी आपतकाल घोषणा गरेको हो ।

कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।
अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि डब्लुएचओलाई स्वास्थ्य आपतकाल घोषणा गर्न बल पुगेको हो ।

यसपटक मङ्कीपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको हो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ ।

यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको डब्लुएचओ जनाएको छ । यो गतवर्षको तुलनामा १६० प्रतिशतले बढी हो ।

एमपक्सको संक्रमण कसरी हुन्छ ?

विज्ञहरुका अनुसार एमपक्स खासगरी यसको संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने अर्को व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्ने गर्दछ ।

यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

एमपक्सका मुख्य दुई प्रकार छन् (क्लेड – १ र क्लेड- २ ) । सन् २०२२ मा क्लेड -२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो ।

यसपटक क्लेड-१ संक्रमण देखिएको छ । यो क्लेड-२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् ।



तपाईको प्रतिक्रिया