जुम्लाका साहित्यकार डि.बि शाहीकाे कविता संग्रह ‘बिर्सिएका अतीतहरू’ विमोचन

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका वडा नं २ निवासी धन बहादुर शाही (डी.बी. शाही) द्वारा लिखित कविता संग्रह ‘बिर्सिएका अतीतहरू’ को विमोचन भएको छ। हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले पुस्तक विमोचन गरेका हुन। पुस्तक विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि शाहीले जुम्लाका साहित्यकारहरूको प्रवर्द्धन तथा सम्मानका लागि स्थानीय सरकारले सधैँ साथ दिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘हिमा गाउँपालिकाले लेखकको प्रोत्साहनका लागि एक सय थान पुस्तक खरिद गर्नेछ।’

साहित्यिक चौतारी कर्णाली प्रदेश शाखाले आयोजना गरेको विमोचन कार्यक्रम वरिष्ठ साहित्यकार रामकृष्ण बुढ्थापा ‘परिमल जुम्ली’ सभाध्यक्षतामा भएको थियोे। कविता संग्रह शाहीको पहिलो कृति हो। लामो समयदेखि साहित्य लेखनमा सक्रिय शाहीले आफ्नो अनुभूति, समाजको यथार्थ, विकृति र विसंगतिलाई समेट्दै यो कृति बजारमा ल्याएका छन्। गजल र मुक्तकमा पनि दखल राख्ने शाहीले पहिलो पटक कविता संग्रह प्रस्तुत गरेका हुन्। संग्रहमा रहेका ५२ कविताहरूले समाजको यथार्थ र अन्यायविरुद्ध विद्रोहको भाव प्रकट गरेका छन्।

कार्यक्रममा पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले समाज परिवर्तनको शक्ति साहित्यमा रहेको भन्दै साहित्यलाई उपेक्षा गर्नु हाम्राे संस्कार र परम्पराप्रतिको उपेक्षा भएको बताए। उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले ‘बिर्सिएका अतीतहरू’ संग्रहमा सामाजिक विषय, विकृति, र विसंगतिलाई व्यंग्य गर्दै प्रस्तुत गरिएको बताए। उनले भने, ‘कविता संग्रहमा कवित्व क्षमताको प्रदर्शन भएको छ।’स्रष्टा लक्ष्मीचन्द्र न्यौपानेले यो संग्रह सरल र मनोवैज्ञानिक दृष्टिकोणले प्रभावकारी रहेको बताए।

सर्जक यामराज कार्कीले साहित्यकारको सम्मान र प्रोत्साहन अभावले धेरै सर्जकहरू निराश हुने गरेको धारणा राख्दै साहित्यमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रामकृष्ण बुढ्थापा ‘परिमल जुम्ली’ ले नवसाहित्यकारहरूको निरन्तर उदय भए पनि सरोकारवालाको उपेक्षाले उनीहरूमा निराशा बढ्दै गएको बताए।



तपाईको प्रतिक्रिया