विद्वताले पाकेको विद्वान के काँचो होला र?
पुस्तक महलभित्र ज्ञानको के खाँचो होला र?
तर आवरणमै आडम्बरको खेती गरिन्छ भने,
देखिएका आवरण जति सबै के साँचो होला र?
– लक्ष्मी रायमाझी खड्का
ज्ञानकुञ्ज,ध्यानकुञ्ज कुञ्जभित्र हुनुपर्छ जीवन
चेतना चुलेको ब्रह्मतत्त्वले छुनुपर्छ जीवन
चोला बदल्न जानु नै छ एकदिन परलोकमा
जानु पूर्व ज्ञान ग्रहण गरि,छरि धुनुपर्छ जीवन।
-श्याम माकाजु
हलुङ्गो हुन्छ उ जस्को ज्ञानको आकाश गहकिलो हुन्छ
सरल हुन्छ उ जस्को ज्ञानको सुवास महकिलो हुन्छ
पर्दैन भर्न अनेक फूलबुट्टा रङहरू चित्रमा घरका भित्तामा
सहजै चिनिन्छ उ जस्को ज्ञानको प्रकाश चहकिलो हुन्छ
-नवराज पौडेल
शिक्षाको ज्योति नाश नहुने अजरअमर जस्तै हुन्छ
छिचोलेर पार गर्न नसकिने अनन्त सगर जस्तै हुन्छ
अज्ञानीहरू सादा कोरा कागज जस्तै हुन्छन् भने
यौटा विद्वान् पुस्तकैपुस्तकको सुन्दर घर जस्तै हुन्छ ।
-मधुमास राई
आत्माज्ञान नभएपछि मान्छे,बाहिरी दुनियाँमा भड्किन्छ
सही मार्ग पहिल्याउन नजान्दा ,पाउ दोबाटोमै अड्किन्छ
एक घडा जलमा पनि ,समुन्द्रको भाव बुझ्छ विद्वानले
मुर्खलाई किताबको घरभित्रै ,ज्ञानको अभाव खड्किन्छ।
-सावित्री अधिकारी
दुबोखबर । २०८१ भाद्र ३१ गते सोमवार