
जुम्ला । जुम्लाकाे तिला गाउँपालिका -६ ले आयतित प्लास्टिकजन्य फूलमाला प्रयोगमा रोक लगाउने निर्णय गरेकाे छ । नेपालीकाे महान पर्व भाइटीकाकाे अवसरमा प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरणीय प्रदूषण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले वडाले प्लास्टिकजन्य फूलमाला प्रयोगमा रोक लगाउने निर्णय गरेकाे वडा अध्यक्ष जंग राेकायाले जानकारी दिए ।
उनका अनुसार प्लास्टिक मालाकाे प्रयाेगले वातावरणमा असर पर्नुकाे साथै आर्थिक रूपमा पनि खर्चिलो हुने भएकाले, वडा कार्यालयले भाइटीका तथा अन्य चाडपर्वमा प्लास्टिकजन्य फूलमालाको प्रयोग र व्यापारमा प्रतिबन्ध लगाएको बताए ।
उनले भने,प्लास्टिक मालाकाे सट्टा घरमै उत्पादन भएका प्राकृतिक फूलहरूको प्रयोग गरी पर्यावरणमैत्री, मर्यादित र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन सबैलाई अनुरोध गरिएको छ ।
यस्तै वडा सचिव मुन बहादुर रोकायाका अनुसार, वडामा बाहिर जिल्ला बाट आएका प्लास्टिकका माला प्रयाेग नगर्न पत्रचार समेत गरेकाे बताए ।
काली बहादुर परियार । २०८२ कार्तिक २ गते आइतवार