
जुम्ला । विभिन्न आरोह–अवरोहबीच नेपाल प्रहरीले आज आफ्नो गौरवपूर्ण ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यो दिवस कुनै औपचारिक समारोह मात्र होइन, देशका प्रत्येक सिपाहीले गरेको त्याग, निष्ठा र सेवाको प्रतीक पनि हो ।
‘जेनजी’ नाममा फैलिएको हिंसात्मक आन्दोलनको आतंकमा जब प्रहरी चौकीहरू जलाइए,प्रहरी जवानहरूलाई आक्रमण गरियो, तब पनि प्रहरी संगठन आफ्नो कर्तव्यबाट विचलित भएन ।
घाम–पानी, हावा–हुरी र संकटका बीच पनि प्रहरी अहिले जनताको सुरक्षामा अहोरात्र खटिएको छ । गाँस, वास, कवास विनाका प्रहरीहरू आज पनि देशको प्रत्येक कुनामा शान्तिको पहरा दिइरहेका छन् ।
भदौ २४ को हिंसात्मक आन्दोलनले नेपाल प्रहरीलाई केवल शारीरिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि गहिरो घाउ पु¥याएको छ । प्रहरी चौकीहरू जलाइए, प्रहरीहरू मारिए, घाइते भए, प्रहरीका परिवारले त्रासका रात बिताए । तर आज ती नै प्रहरीहरू पुनः उठिरहेका छन् ।
धुलो टकट्याएर,घाउ बोकेर, आफ्नो जिम्मेवारी पूरा गर्न कार्यक्षेत्रमा खटिएका छन । हिजो प्रहरी चौकी जलाउनेहरू आज त्यही प्रहरीको सुरक्षामा निर्भर छन् । यही हो प्रहरी सेवाको विडम्बनापूर्ण तर गौरवशाली सत्य । प्रहरीले कहिल्यै प्रतिशोध होइन, जनताको सुरक्षामा विश्वास राखेर अघि बढेको छ ।
नेपाल प्रहरीको कथा कुनै साधारण प्रशासनिक इतिहास होइन यो देशको शान्ति र स्थायित्वको जीवित दस्ताबेज पनि हो । मल्ल कालमा चौकीदारी र रातको पहरादेखि चोरी, लुटपाट रोक्ने काम हुँदै, प्रहरीले आफ्नो अस्तित्व स्थापित ग¥यो ।
राणाकालमा अमिनी, मिलिसिया र कोतवाली पुलिसका रूपमा विकसित हुँदै, २००७ सालको परिवर्तन पछि प्रहरी संस्थागत स्वरूपमा अघि बढेको देखिन्छ ।
२०१२ सालमा नेपाल प्रहरीको विधिवत् स्थापना भई प्रहरी ऐन जारी भयो । त्यो ऐनले नेपाल प्रहरीलाई कानुनी ढाँचा दियो । पछि २०१५ सालमा नियमावली बनेपछि प्रहरी संरचना व्यवस्थित भयो । २०४९ र २०७१ मा भएका संशोधनहरूले प्रहरीलाई आधुनिक, पारदर्शी र लोकतान्त्रिक संगठनमा रूपान्तरण गरेको देखिन्छ ।
नेपाल प्रहरीको मूल मन्त्र सत्य सेवा सुरक्षणम् हो । यो केवल नारामात्र होइन देश र जनताको सुरक्षालाई आफ्नो धर्म ठानेका हजारौँ प्रहरीको प्रतिबिम्ब पनि हो । देशका हिमाली टाकुरा, पहाडी गाउँदेखि तराईको मैदानसम्म प्रहरीको उपस्थिति छ ।
चोरी, हत्या, ठगी, घरेलु हिंसा, मानव बेचविखन, सवारी दुर्घटना, लागुऔषध, साईबर अपराध हरेक मोर्चामा प्रहरी नागरिकसँगै उभिएको छ । राज्यले सुम्पेको जिम्मेवारी कानुन बमोजिम पालना गर्दै, प्रहरी जनताको सेवा र सुरक्षा सुनिश्चित गर्दै आएको देखिन्छ ।
२०७२ सालको विनाशकारी भूकम्पमा प्रहरीको योगदानलाई देशले कहिल्यै भुल्न सक्दैन । ज्यानको जोखिम मोलेर भग्नावशेष भित्रबाट जीवित उद्धार गर्ने प्रहरीका दृश्य आज पनि सम्झन लायक परिदृष्य आम नेपालीको मानसपटलमा ताजा नै रहेको हुनुपर्दछ ।
त्यसपछि बाढी, पहिरो, आगलागी, आँधी–हुरी वा महामारी हरेक विपदमा प्रहरी अग्रपंक्तिमा रहँदै आएको छ । कोभिड–१९ महामारीको समयमा जब सबै घरभित्र थिए, त्यो बेला प्रहरी सडकमा थियो ।
नियम पालना गराउँदै, बिरामी बोक्दै, मास्क बाँड्दै, र नागरिकको स्वास्थ्य सुरक्षामा खटिदै गरेको थियो । सिमित स्रोत र साधनबीच पनि प्रहरी संक्रमित हुने जोखिम मोल्दै आफ्नो कर्तव्यमा अडिग रहेको थियो ।
प्रहरीको यस्तो इतिहास बिर्सेर जेनजीका नाममा भएको आतंकको शिकार हुन पुगेको प्रहरी पछिल्लो पटक देशभर भएको विपदमा आफुलाई पहिलेकै अवस्थामा परिचालित भएको देखिन्थ्यो ।
नेपाल प्रहरीले केवल अपराधपछि प्रतिक्रिया जनाउने संस्था होइन यो अपराध घटाउने, सचेतना जगाउने संस्थाको रुपमा आफुलाई स्थापित गर्दै आएको छ ।
देशभर प्रहरीले लागुऔषध नियन्त्रण, बालविवाह विरुद्ध अभियान, घरेलु हिंसा रोकथाम, सडक सुरक्षा, साइबर सचेतना, ठगी नियन्त्रण र समाजमा शान्ति सुरक्षाका साथै अमन चयन कायम गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
टेलिचलचित्र, भिडियो सन्देश, विद्यालयस्तरका सचेतना अभियान र समुदाय–प्रहरी साझेदारीले समाजलाई अपराधविरुद्ध सचेत बनाउन ठूलो योगदान दिएको छ ।
नेपाल प्रहरीमाथि पटक–पटक भएका आक्रमणहरू देशको कानुनी शासनमाथिको चुनौतीका रुपमा देखापरेको छ । माओवादी द्वन्द्वकलामा प्रहरी चौकीहरू ध्वस्त पारिँदा सयौँ प्रहरीले जीवन गुमाए, कति अंगभंग भए त्यो पीडा अझै ताजा छ ।
आज पनि आन्दोलन वा राजनीतिक द्वन्द्वका नाममा प्रहरीलाई आक्रमण गर्ने प्रवृत्ति देखिन्छ । तर प्रहरी कहिल्यै बदला लिँदैनस बरु अपराध नियन्त्रणमा कानुनी बाटो रोज्दै आएको छ । यस्तो शान्तिप्रिय तर दृढ चरित्रले नै प्रहरी संगठनलाई “कर्तव्यमा अडिग र आत्मबल ‘अजेय’ बनाएको छ ।
प्रहरीको वास्तविक शक्ति नागरिककै विश्वास हो । नागरिकले प्रहरीलाई आफ्नो साथीको रूपमा अनुभूति गर्न सके समाज स्वतः अपराधमुक्त बन्छ ।
त्यसैले, नागरिक बिना बर्दीको प्रहरी र प्रहरी बर्दिधारी नागरिक भन्ने विचार आत्मसात गर्न जरुरी छ । समाजबाट नै प्रहरी बनेको हो, र प्रहरी समाजकै लागि हो । यो चेतना नागरिक स्तरमा फैलिन सके, अपराधविरुद्ध सामूहिक शक्ति निर्माण हुन्छ ।
विधिको शासन र मानवअधिकारप्रति प्रहरीको प्रतिबद्धताले यो संगठनलाई अझै सुन्दर बनाएको छ । नेपाल प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय होइन, यो मानवअधिकार र विधिको शासनको संरक्षक पनि हो । संविधान र अन्तर्राष्ट्रिय कानुनको मर्मअनुसार प्रहरीले प्रत्येक नागरिकको अधिकारको रक्षा गर्ने दायित्व बुझेको छ ।
प्रहरीको व्यवहार, अनुसन्धान, नियन्त्रण, हिरासत र सेवा प्रवाहमा मानवअधिकार मैत्री दृष्टिकोणलाई संस्थागत गर्न निरन्तर सुधार हुँदै आएको देखिन्छ । यदाकदा यो संगठनमा रहेका भाइरसहरुले संगठनको छवी धुमिल बनाउने प्रयास गर्ने गरेकाले प्रहरी प्रति जनताले शंका गर्ने गरेको पनि पाइन्छ ।
नेपाल प्रहरी विपद् व्यवस्थापनमा अब प्रमुख नायक बनेको छ । उद्धारका लागि आवश्यक तालिम, उपकरण र सशक्त टोलीका साथ प्रहरी संघीय, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै आएको छ ।
विपद्–पूर्व तयारी, प्रतिकार्य, राहत र पुनःस्थापनामा प्रहरीको समन्वयले सयौँ नागरिकको जीवन बचाएको छ । यसले प्रहरीलाई मात्र बलियो बनाएको छैन,समाजमा प्रहरी हाम्रो भरोसा भन्ने भावनालाई मुखरित गरेको छ ।
सच्चा राष्ट्रसेवक, इमान्दार, कर्तव्यनिष्ठ र लगनशील भए मात्र प्रहरी जनताको मनमा बस्न सक्छ । त्यसैले संगठनभित्र अनुशासन, जवाफदेहिता र सेवाभाव सुदृढ गर्न नेपाल प्रहरीले निरन्तर सुधारका पहल गर्नुपर्ने देखिन्छ ।
प्रत्येक प्रहरीले नागरिकको गुनासो सुन्ने, समस्या बुझ्ने र समाधान गर्ने संस्कार विकास गर्नुपर्छ । यदि नागरिकले प्रहरीलाई आफ्नो ‘सुख–दुःखको साथी’ मान्न थाले भने,त्यो नै प्रहरी संगठनको सबैभन्दा ठूलो सफलता हुनेछ ।
नेपाल प्रहरीमाथि विभिन्न कालखण्डमा अनेक आरोप, आक्रमण र आलोचना भए । तर संगठन कहिल्यै आफ्नो मूल धर्मबाट विचलित भएन । बलिदान र बफादारीको इतिहास बोकेको प्रहरी अझै पनि देशको शान्ति, सुरक्षा र स्थायित्वको मूल आधार बनेर उभिएको छ ।
भविष्यमा पनि प्रहरीले सत्य, सेवा र सुरक्षणमको मन्त्रलाई जीवन्त राख्दै विधिको शासन, जनअधिकार र शान्तिपूर्ण समाज निर्माणमा प्रहरीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
आजको ७०औँ प्रहरी दिवसले सम्झाउँछ, प्रहरी केवल कानुनको संरक्षक होइन,यो राष्ट्रको आत्मा हो । आक्रमणले यसको देह जलाउने कोसिस होला, तर कर्तव्यको आत्मालाई कहिल्यै पराजित गर्न सक्दैन ।
दुबोखबर । २०८२ असोज ३१ गते शुक्रवार