आज जनै पूर्णिमा र रक्षा बन्धन मनाईदै

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए। अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ। यसै दिनलाई जनैपूर्णिमापनि भनिन्छ। नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछिजौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन्। त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन्।

समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ। भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन्। वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ।

खुसीयालीको चाड विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन। अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरूकालागि राखी खरिद गर्नुभयो त ! अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूकालागि के कस्तो उपहार दिने तरखर गर्नुभएको छ त आज ?

हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो। धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन। ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ। बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ। जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ। जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ।



तपाईको प्रतिक्रिया