पर्यटककाे मन लोभ्याउदै गुठिचाैरका रंगीचंगी फुलले

जुम्ला । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज । यी दृश्य हुन्–जुम्ला गुठिचाैर गाउँपालिका वडा नम्वर २ मा अवस्थित सुन्दर पर्यटकीय स्थल गुठिचाैर हाे । जुम्लाको एक मात्र सुन्दर, रमणीय गुठिचाैरकाे फाँट र पाखा बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ ।

गुठिचाैरकाे पर्यटन प्रवद्र्धन र विकास गर्नकाे लागि बजेटकाे व्यवस्था गरिएको गुठिचाैर २ का वडा अध्यक्ष दिप बहादुर ऐडीले बताए । उनका अनुसार वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए । ‘असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि गुठिचाैरमा ‘सिजन’ हो’, उनले भने, ‘केही वर्षअघिसम्म स्थानीयस्तरमा सीमित गुठिचाैर बुकीको सौन्दर्य, रंगीचंगी फुलहरू र भेडाका बथानले अहिले आन्तरिक तथा बाह्य पर्यटककाे लागि राेजाईमा परेकाे उनले बताए ।

सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेकाे वडा अध्यक्ष ऐडीले बताए । शुक्रबार, शनिबार र छुट्टीको दिन जिल्लाका विभिन्न स्थान बाट गुठिचाैर घुम्न पर्यटकहरु आउने गरेका छन् ।

शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ । ‘थरीथरीका फूलले रङ्गिएको गुठिचाैर बर्खायाममा झनै रमाइलो हुने गरेकाे छ । बर्खा सिजनमा गुठिचाैरकाे आकर्षण नै बुकी र रंगीचंगी फुलहरू हुन् । यहाँ आउने पर्यटकका लागि राम्रो बासस्थानका लागि वडा सरकार लागि परेकाे वडाअध्यक्ष दिप बहादुर ऐडीले बताए ।

पोषिलो घाँस खुवाउन लागि जुम्ला सदरमुकाम आसपासका बस्ती, गुठिचाैर गाउँपािलकाका सबै वडाका किसानले गुठिचाैरकाे बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसानकाे भनाइ छ ।



तपाईको प्रतिक्रिया