इमान्दारले चुनाव लड्नै नसक्ने भए, निर्वाचन प्रणाली बदलौँ : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने माग उठेको छ । कांग्रेस केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य गुरु बरालले संविधानमा देखिएका कमजोरी परिमार्जन गर्नुपर्ने बताए ।

उनले महँगो निर्वाचनका कारण सबै राजनीतिक दलमा इमान्दार र निरन्तर लागि परेका नेता कार्यकर्तालाई चुनाव लड्न समस्या भइरहेको बताए ।

“महँगो निर्वाचनका कारण पार्टीका इमान्दार र निरन्तर लागिरहेका नेता कार्यकर्ता हतोत्साहित भएका छन् । निर्वाचनमा हुने अपारदर्शी र अनुचित गतिविधिको अन्त्य गर्न जरुरी छ‚” उनले भने‚ “नेपालको संविधान प्रयोग गरेको १० वर्ष पुग्न लागेको छ । संविधान चलायमान र समयसापेक्ष परिस्कृत र परिमार्जन गरिने दस्तावेज हो । अब हामीले यो गरेर समय र जनअपेक्षाअनुरूप जानुपर्छ ।”

बैठकमा उनले २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिक उमेदवार नभएको र गठबन्धनविरुद्ध उमेदवारी दिएका र पार्टीमा फर्केर काम गर्न तयार रहेकाहरूको कारबाही फुकुवा हुनुपर्ने माग गरे ।

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखसमेत रहेका उनले जारी केन्द्रीय समिति बैठकले चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण र प्रभावकारी अनुगमनका लागि नेपाल सरकारलाई निर्देश दिनुपर्ने माग गरे । साथै‚ उपभोक्ता अदालत गठनका लागि पहल गर्न र निष्पक्ष कारोबार आयोग गठन गर्ने गरी सदनमा विधेयक पेस गर्न दबाब दिनुपर्ने उनको माग छ ।



तपाईको प्रतिक्रिया