फोटोमा मुक्तक प्रतियोगिताको १९२औं शृङ्खला सम्पन्न

हिलो, मैलो, कालो बादल हटी शीतल शरद्को याम आएपछि
बच्चाबच्ची, बूढाबूढीहरूका मुहारमा उज्यालो घाम आएपछि
पिङ खेल्दै,रातो टीका लाउँदै साँच्चै आउँला दसैँ सद्भावको,
हरेक स्त्रीका मनमा दुर्गा र पुरुषका चेतनामा राम आएपछि ।
– भूपाल अधिकारी

न आए पनि हुन्थ्यो यो दशैँ दुखी अनि गरिबको घरमा
पुर्‍याउनलाई खर्च हम्मेहम्मे हुन्छ ऋण काढेको भरमा
दशैँमा हामी मिठो खाने राम्रो लाउने भन्छन् छोराछोरी,
खै म कसरी भन्नु नयाँ लुगा सकिएछ पाउँदैन शहरमा ।
-पवित्रा चाम्लिङ

जल्दा एकै घाट एकै साथ कयौं लाश म दशैं मनाउँ कसरी
थिए सबै कोखका मोती सन्तान खास म दशैं मनाउँ कसरी
देवी माता रिसाएकै हुन त्यो प्रकृति पनि क्रुद्ध भएकै हुन
देशमा छ ती राहु केतु शनिको बास म दशैं मनाउँ कसरी ।
-शोभा शाह थापा

अभाव फल्यो जिन्दगीको रुखमा देशै छोड्नु पर्यो
गुजार्नु रहेछ जीवन दुखैदुखमा देशै छोड्नु पर्यो
दशै राम्ररी मनाउनु भाइ बाआमाको साथमा
के गर्नु मैले त दशैकै मुखमा देशै छोड्नु पर्यो l
-धिरज दर्पण राई

चाडबाड पर्व मेला भन्या भोज मात्र होइन होला
नाना, पापा, चाचा रोजारोज मात्र होइन होला
यसपालिको चाड अलि फरक गरी मनाउँला नि
यो दशैँ भन्नु सधैँ मोजैमोज मात्र होइन होला |
-तुमला सिलवाल



तपाईको प्रतिक्रिया